राप्रपाको मान्यता : प्रदेश सरकार आवश्यकताहीन


काठमाडौं,  ५  साउन  :  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । पार्टीद्वारा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाएमा प्रदेश सरकारको आवश्यकता नरहेको बताएका हुन् ।

 

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्दै उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने विचार व्यक्त गरे ।

 

उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरूपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको संघीय स्वरूप कायम गर्न उपयुक्त हुन्छ । प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’ उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबीसमेत गरे । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?