चुनावका बेला देखिनेहरूको भाषणमा मतदाता पर्न नहुने : नेता सिंह


काठमाडौँ,  ७  साउन :  कांग्रेस नेता प्रकाशमान सिंहले चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै स्वतन्त्र र नयाँ नेताहरूबाट केही प्राप्त नहुने बताएका छन् । उनले चुनावको मुखमा जनतामाझ आउने र अरुबेला देखा नपर्नेहरूलाई जिताएर केही नहुने बताएका हुन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले गत निर्वाचनमा जनतामा प्रतिस्पर्धी बनेका व्यक्तिहरू यसबीचमा कतिपटक जनतामा आएका छन् ? भनेर पनि प्रश्न गरेका छन् ।

‘गएको निर्वाचनमा नयाँ पार्टीको मान्छे परिवर्तन गर्छु भनेर आयो । जो उम्मेदवार भएर आयो त्यो उम्मेदवारले यो निर्वाचन क्षेत्रमा के गर्‍यो त ? त्यत्रो कोभिड हुँदा, अरु आपत पर्दा, कसैलाई समस्या हुँदा कहिँ कतै देखा पर्‍यो ?,’ २०७४ को प्रतिनिधिसभा निर्वाचनका प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई लक्षित गर्दै उनले प्रश्न गरेका थिए ।

मतदाता चुनावका बेला देखिनेहरूको भाषणमा पर्न नहुने सिंहको आग्रह थियो । ‘चुनावको समयमा, सामाजिक सञ्जालमा मात्रै आउनेहरूको मूल्यांकन र परीक्षण भएको छैन । हाम्रो स्वभाव कस्तो हुन्छ भने ज्यादु, चटक देखाउनेले चटक देखाउँदा अचम्म पर्छौं । कुनै आन्दोलनमा सहभागी नभएका, जागिर खानसम्म खाएर पैंसा कमाउनसम्म कमाएर स्वतन्त्रको हावा बगिरहेको छ हामी पनि पसौं भन्ने छन्,’ उनले भने ।

सिंहले स्थापित पार्टीहरूलाई समेत काम गर्न गाह्रो भइरहेको बेला स्वतन्त्र उम्मेदवारलाई जिताएर केही नहुने तर्क गरे । उनले भने, ‘पुरानोलाई त गर्न गाह्रो छ, नयाँले के गर्छ ? राणा शासन, पञ्चायत ढाल्नेलाई त काम गर्न गाह्रो छ । एकजना स्वतन्त्रलाई जिताएर पठाउँदा के हुने हो ?,’ उनले भने । परिवर्तन गर्छु भनेर बोल्दैमा परिवर्तन नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?