साउने सोमबार विशेषः “नागेन्द्राहाराय त्रिलोचनाय भष्माङ्गरागाय महेश्वराय । नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ।।”


काठमाडौं,  १६  साउन  :  आज साउने सोमबारको तेस्रो साता देशभरका सनातनी धर्मावलम्बीहरू विशेष आधाराधना गरेर भगवान् शिवजीको पूजाअर्चनामा व्यस्त रहेका छन् । श्रावण अर्थात् साउन महिना देवाधिदेव महादेवका लागि प्रिय रहेको विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । शिव महापुराणमा उल्लेख गरिएअनुसार साउन महिनामा शिवजीलाई जलाभिषेक गर्नाले पुण्य प्राप्त हुन्छ । शिव महापुराणकै अनुसार भगवान् शिवजीका दुई स्वरूप छन्, शिवजी साकार पनि हो भने निराकार पनि हो । सनातनी धर्मावलम्बीहरू शिवजीलाई दुबै स्वरूपमा पूजाअर्चना गर्छन् ।

शिव लिंगको भाषिक अर्थः

संसारमा केही अज्ञानी तत्वले लिंगको अर्थलाई जसरी प्रतिभाषित गरेको छ, त्यो वास्तविक अर्थमा मेल खाँदैन् । शिव लिंग एक संस्कृत शब्द हो त्यसकारण शिव लिंगको सत्य र वास्तविक अर्थ हो, प्रतीक वा चिह्न । शिव लिंगले के प्रदर्शित गर्दछ भन्नाले शिवजीको स्वरूपलाई दर्शाउँछ । संस्कृतमा जसरी पुलिङको प्रतीक पुरुष र स्त्रीलिङको प्रतीक स्त्री हो भने यसैप्रकार शिवलिंगको प्रतीक शिवको लिंग हो । पुराणहरूमा वर्णित कथानुसार, ऋषिहरूले सूतजी महाराजलाई प्रश्न गरे कि सबै देवताहरूको पूजा मूर्ति स्वरूपमा हुन्छ भने परन्तु, शिवजीको पूजा लिंग र मूर्ति स्वरूप दुबैमा किन हुन्छ ? तब सूतजी महाराज भन्नुहुन्छ, एकमात्र शिवजी नै ब्रह्म रूप भएकाले वहाँलाई निराकार भनिन्छ । उनी रूपवान् भएका कारण साकार पनि भनिन्छ । यसैले शिवजी साकार पनि हो निराकार पनि हो । शिवलिंग शिवजीको निराकारको स्वरूप हो भने उनको मूर्ति स्वरूप साकार रूप हो । साकार, निराकार दुबै रूपमा मानिने भएकाले शिवजी ब्रह्म शब्दले पुकार्ने परमात्माका स्वरूप हुन् । यही कारण शिवजीलाई चराचर जगत्का प्राणीले साकार र निराकार स्वरूपमा पूजिने गर्दछ । महादेवभन्दा भिन्न देवता साक्षात् ब्रह्म स्वरूप होइन । त्यसकारण अन्य देवता निराकार स्वरूपमा उपलब्ध छैनन् । शिवलिंग यस्तो एउटा आकृति हो जसमा सम्पूर्ण ब्रह्माण्ड व्याप्त छ । शिवलिंग विभिन्न आकार र प्रकारमा देखिएका छन् । जुन केही मनुष्यले बनाएका हुन् र केही भगवान् स्वंयले प्राकट्य स्वयम्भू स्वरूपमा छन् । यदि बाह्र ज्योर्तिलिंगको स्वरूपको चर्चा गर्ने हो भने उनको आकार एक अर्कासँग भिन्न छ । यसकारणले यो भिन्न छ कि अलग अलग उद्देश्य प्राप्तिका लागि अलग अलग शिवलिंग बनाइएको छ । केही शिवलिंग स्वास्थ्यका लागि बनाइएको छ भने केही विवाह महोत्सवका लागि । केही ध्यान, साधनाका लागि स्थापित गरिएको छ । यी सबै लिंगहरूमा एक प्रकारको समानता रहेको छ । यीनको बनावट अण्डाकार छ । जो वस्तुतः ब्रह्माण्डको आकार हो । शिवलिंग पुरुष वा स्त्रीको प्रतीक नभएर सम्पूर्ण ब्रह्माण्डको शून्य निराकारको प्रतीक हो । शिवलिंगलाई एकै शैलीमा बाँधेर राख्न सकिन्न । किनभने यो स्वयं एक श्रेणी हो भने एक प्रतीक पनि हो । यदि वैज्ञानिकहरूले खिँचेको अन्तरिक्षको तस्बिरलाई हेर्ने हो भने सम्पूर्ण आकाश एक लिंग देखिन्छ । त्यस्तै, पुराणहरूमा पनि सम्पूर्ण आकाशलाई एक लिंगको रूपमा वर्णन गरिएको छ । शिवलिंग समस्त् ब्रह्माण्डको एक धुरी हो । शिवलिंग अनन्त छ, शिवलिंगको न आरम्भ छ न अन्त्य । ब्रह्माण्डमा दुई वस्तु छन्, ती हुन्, एक ऊर्जा र अर्को पदार्थ । मनुष्यको शरीर पदार्थद्वारा निर्मित छ भने आत्मा ऊर्जा हो । यसैप्रकार प्रकृति पदार्थ हो भने शिव भक्ति ऊर्जाको प्रतीक । यी दुबैलाई मानेर शिवलिंग भनिन्छ । ब्रमाह्ण्डको समस्त् ऊर्जा शिवलिंगमा समाहित छ । वास्तवमा शिवलिंग ब्रह्माण्डको प्रतीक हो । शिवलिंगमा यसकारण कर्मकाण्ड गरिन्छ कि त्यसमा अधिकभन्दा अधिक ऊर्जा समाहित गर्न सकियोस् र शिवलिंगको समीपमा बस्दा भक्तजनले अधिकभन्दा अधिक ऊर्जा प्राप्त गर्न सकोस् जसले भक्तजनहरूको आध्यात्मिक उन्नति होस् ।

“नागेन्द्राहाराय त्रिलोचनाय भष्माङ्गरागाय महेश्वराय । नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ।।”

 

यसको भावार्थ हो, जो शिव नागराज वासुकीको हारबाट सुशोभित छ, जसको तीन नेत्र छ, जसको सम्पूर्ण शरीरमा भष्म (खरानी) लेपन गरिएको छ, यसप्रकार महान् ऐश्वर्यबाट सम्पन्न, नित्य अविनाशी तथा स्वयम्भू हुनुहुन्छ, जसलाई दिशाहरूले वस्त्रको काम गर्दछ अर्थात् वस्त्र आदि, उपाधिबाट पनि जो रहित छ, यस्तो निर्विछिन्न, निराकार शिवजीलाई म नमस्कार गर्दछु । ।। ऊँ नमः शिवाय ।।

(प्रस्तुती : असनबजार पत्रिकाका लागि उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?