कांग्रेस नेता निधि र भारतीय मन्त्री गडकरीबीच  भेटघाट


नयाँदिल्ली,  १९  साउन  :   नेपाली कांग्रेसका  नेता  विमलेन्द्र निधि र भारतका केन्द्रीय सडक परिवहन मन्त्री नितिन गडकरीबीच  भेटघाट भएको छ ।

मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो भेटमा नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक  भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न  आग्रह गरेका छन् ।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए । जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो । यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ । भेटमा दुबै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । मन्त्री गडकरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए । त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?