चुनावी सिट बाँडफाँटका लागि पाँच दलको कार्यदल


काठमाडौं,  २१  साउन  :  सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन बैठकले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल निर्णय गरेको जानकारी दिए । ‘बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ,’ बैठकपछि कार्कीले भने । सिट बाँडफाँटका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । जसमा प्रमुख सत्तारूढ दल कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तोकिएका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई ‘कुन दलले कति सिट लिने ?’ भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न समय दिइएको छ । ‘कार्यदलले सिट बाँडफाँट मोडालिटी बनाउँछ, मोडालिटी विषयमा अब बस्ने गठबन्धन बैठकमा छलफल हुन्छ,’ कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?