डा. भट्टराईले विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने


काठमाडौं,  २१  साउन  :  नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्ने बताउनुभएको छ ।  काठमाडौंमा शनिबार आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले सो कुरा बताउनुभएको हो ।

 

जनता समाजवादी पार्टी (जसपा) सँग अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछि आज पहिलो केन्द्रीय समिति बैठक काठमाडौंमा बसेका हो । ‘‘आगामी निर्वाचनमा विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्त्वपूर्ण ढङ्गले उठाउनेछ  र ती विषयहमा गम्भीर छलफल गरी पार्टीको कन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिन्छ ।’’

 

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्नुभयो । उहाँले त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, उहाँले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय सङ्कीर्णताको बाटोमा पतन हुने अवस्था आएको पनि बताउनुभयो । जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय सङ्कीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको नेता भट्टराईले औंल्याउनुभयो ।

 

‘‘यो केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा भनेको पुनर्गठित यो पार्टीको वैधानिकतालाई पूरा गर्ने र विभिन्न पक्षहरुसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको समेत आँकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने यो ।,’’ भट्टराईले भन्नुभयो, ‘‘हामी एउटा नयाँ इतिहास रच्ने हिम्मत र आँट सुरु गरेका छौं । नयाँ काम जहिले पनि अप्ठ्यारो हुन्छ । तर, अप्ठ्याराहरुसँग जुधेर मात्रै रुपान्तरणकारी कामहरु गर्न सकिन्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?