भारतको चर्को दबाबपछि श्रीलंका चिनियाँ जासुसी पानी जहाज फर्काउन बाध्य


 

काठमाडौं,  २२ साउन  (असनबजार पत्रिका)  :  भारतको चर्को दबाबपछि श्रीलंकाले चिनियाँ जासुसी जहाज (युआन वाङ–५) लाई चीनतर्फ फर्काउन बाध्य पारिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाया राजापाक्षेले आफू कोलोम्बोबाट भाग्नेक्रमको केही घन्टाअगाडि उक्त चिनियाँ जासुसी जहाजलाई हब्बनटोटा बन्दरगाहमा आउन अनुमति दिएको थियो ।  उक्त जहाज यही अगस्ट ११ देखि १७ तारिखसम्म हब्बनटोटामा आउन अनुमति दिएको थियो ।

 

श्रीलंका अहिले खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको र यस परिस्थितिमा भारतले कोलोम्बोलाई दैनिक आवश्यकताका अत्यावश्यक सामग्रीलगायत पेट्रोलियम पदार्थको सहायता उपलब्ध गराएका कारण श्रीलंकाले भारतलाई चिढाउन नचाहेकाले चिनियाँ जासुसी पानी जहाजलाई आउने अनुमति दिए पनि पछि रद्द गरिएको हो ।

 

श्रीलंकामाथि चीनको करिब ७ बिलियन डलर ऋण रहेको छ । ऋण तिर्न नसक्दा श्रीलंकाले आफ्नो हब्बनटोटा बन्दरगाहलाई ९९ वर्षसम्मका लागि चीनलाई करारमा दिएको थियो । यदि चिनियाँ जहाज कोलोम्बोमा आएको खण्डमा दक्षिण भारतस्थित भारतको दुई परमाणु संयन्त्र, कयौं सैनिक अखाडा र सैन्य प्रतिष्ठानलगायत सुरक्षासँग सम्बधित निकायहरूको जासुसी गरेर डाटा संकलन गर्न सजिलो हुने भनी भारतले श्रीलंकामाथि दबाब दिएको थियो ।  अन्तमा भारतको चर्को दबाबपछि श्रीलंकाका अधिकारीहरूले चिनियाँ जहाज फर्काउने आदेश दिन बाध्य भयो ।

 

चीनले करारमा लिएको भएतापनि हब्बनटोटा बन्दरगाहमा चिनियाँ पानी जहाज आउन नपाएको यो पहिलो पटक हो । चिनियाँ अधिकारीहरूले पनि श्रीलंकाको अनुरोधमा हिन्द महासागरबाट आफ्नो जहाज फिर्ता लगेको छ । एक रिपोर्टका अनुसार चीनसँग त्यस्ता शक्तिशाली जासुसी जहाज ७ वटा भएको मानिन्छ । जबकि भारतसित आइएनएस ध्रुव नामक एक पानी जहाज रहेको छ । जहाज फिर्ता प्रकरणबाट दक्षिण एसियामा भारतको प्रभाव सुदुढ भएको कूटनीतिक क्षेत्रमा आँकलन गरिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?