पाटनमा डेङ्गुको महामारी रूप, सावधानी अपनाउन आग्रह


काठमाडौँ,  ८  भदौ  (असनबजार पत्रिका)  :  काठमाडौ उपत्यकामा डेङ्गुले महामारीको रूप लिन सुरु गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९ सय २३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा त्यसमध्ये पनि पाटनमा धेरै रहेको छ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखाका डा. शशी कँडेलले दिएको जानकारीअनुसार उपत्यकाको पाटनमा मात्रै ५ सय २९ जना डेङ्गुका बिरामी रहेका छन्। यो देशभरिकै सबैभन्दा बढी डेङ्गु पुष्टि हुने जिल्लामा गनिएको छ।
काठमाडौँमा हालसम्म २ सय १९ जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा बढी डेङ्गु फैलिएको १० जिल्लामा रुपन्देही ३ सय ७, तेह्रथुम ६०, सिन्धुली ५७, धादिङ ७०, सङ्खुवासभा ४६, अर्घाखाँची ४२, पाल्पा ३८ र गुल्मी ३६ जना रहेका छन्। यस्तै भक्तपुरमा पनि ३५ जनामा डेङ्गु फैलिसकेको छ। डा। कँडेलका अनुसार हालसम्म ६७ जिल्लाबाट डेङ्गुको केस रिपोर्ट भएको छ।

हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिपोर्ट भएका एक हजार ९ सय  २३ केसमध्ये अधिकांश अस्पतालमा भर्ना भएका डेङ्गु सङ्क्रमित व्यक्ति र डेङ्गु पुष्टि भइसकेपछि अस्पतालमा आएर ओपीडीमा परीक्षण गराएका व्यक्ति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?