विदेशी हवाई यात्रुमाथि लगाइएको प्रतिबन्ध खुला


काठमाडौँ,  ८  भदौ  (असनबजार पत्रिका)  :  नेपाल हुँदै तेस्रो मुलुकमा जान विदेशी हवाई यात्रुमाथि लगाइएको प्रतिबन्ध सरकारले हटाएको छ। कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि विदेशी नागरिकलाई नेपाल हुँदै तेस्रो मुलुक जान लाग्दै आएको उक्त प्रतिबन्ध सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो।

 

अध्यागमन विभागले २०७८ वैशाख १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेषगरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए।

 

यसैबीच सरकारले प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ। विमानस्थलस्थित अध्यागमन विभागका सूचना अधिकारी माधव मरासिनीका अनुसार कोभिड महामारी भएयता ट्रान्जिट भिसा बन्द छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?