नेपाल­–बङ्गलादेशबीच ऊर्जा व्यापारको सम्भावना बढ्यो, भारतलाई सहमतिमा ल्याइने


काठमाडौँ,  १०  भदौ  (अबप)  :  नेपाल­–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको चौथो बैठकमा बङ्गलादेशले लगानी गर्न चाहेको ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको विषयमा व्यापक छलफल गरी समाप्त भएको छ । वित्तीय ‘मोडालिटी’समेत टुङ्ग्याउने

सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको वित्तीय ‘मोडालिटी’ र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा टुङ्ग्याउने सहमति भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच काठमाडौंमा बिहीबार बैठक बसेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘सुनकोसी तेस्रोबारे संयुक्त कार्यसमिति र निर्देशन समिति दुवैमा बृहत् छलफल भयो । बङ्गलादेश सरकारको लगानी रहने गरी बनाउन प्रस्ताव गरिएको सो आयोजनाको प्रतिवेदनबारे अध्ययन गरी आगामी बैठकमा बङ्गलादेश पक्षले प्रस्ताव ल्याउनेछ र सोही बैठकले टुङ्ग्याउने सहमति जुटेको छ ।”

सो आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी खडा गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुकुमार भेटवालले जानकारी दिनुभयो । यस्तो कम्पनी छ महिनाभित्र खडा गरिनेछ ।
रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको बीचमा पर्ने लुभुघाटमा यो आयोजना बनाइनेछ । विद्युत् विकास विभागले गराएको सम्भाव्यता अध्ययनअनुसार १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटरमाथिसम्म फैलिने भएकाले सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ ।
नेपाल बङ्गलादेश विद्युत् व्यापार सम्झौता गर्ने अर्को एजेन्डा पनि भारतको भूमिकालाई मध्यनजर गर्दै अहिले सम्झौता गरिएन ।

नेपालको विद्युत् बङ्गलादेश पु¥याउन भारतीय प्रसारण लाइन प्रयोग नै हालका लागि उत्तम विकल्प हो । यसबाहेक अर्को प्रसारण लाइन निर्माण पनि विकल्पका रूपमा चर्चा हुँदै आएको छ तर दुवै विकल्पमा भारतसँगको सकारात्मक सहकार्य आवश्यक हुन्छ । भारतलाई साथ लिएर अगाडि बढ्ने निधो बैठकले गरेको छ । बिहीबारको बैठकले नेपाल र बङ्गलादेश दुवैले आ–आफ्ना संयन्त्रमार्फत भारतसँग संवाद जारी राख्ने र त्रिपक्षीय बैठक गरी सहकार्य विस्तार गर्ने निर्णय पनि गरेको घिसिङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?