सरकारले निर्वाचन निष्पक्ष हुनेमा आश्वस्त पार्नुपर्छ : सिंह


काठमाडौं,  १०  भदौ  (असनबजार पत्रिका)  :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको सरगर्मी चढेको बेला आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनेमा सरकारले आश्वस्त पार्नुपर्ने कुरामा जोड दिएका छन् ।

दिवंगत मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई शुक्रबार काठमाडौंमा भएको एक सभामा सिंहले ‘‘चुनावी माहोलमा देश होमिसकेको छ । कांग्रेसले निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउनका लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्ने उल्लेख गरे ।
सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने पनि बताए ।

 

उनले भने, ‘‘नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ । आगामी दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ ।’’

 

सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानुन निर्माण नगरेको आरोप लगाउँदै भने, ‘‘नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको र कम्युनिष्ट पार्टीका सरकारले सङ्घीय कानुन समयमा नबनाइ दिँदा सङ्घीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महसुस गर्ने गरेर अघि बढाउन सकेन ।’’

नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभई मतदानको अधिकार दिलाउन पनि स्व. मंगलादेवी सिंहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको  उल्लेख  गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?