सूर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्न सर्वोच्चको परमादेश


काठमाडौं,  १३   भदौ (असनबजार पत्रिका)  :  काठमाडौं । सर्वोच्च अदालतले सूर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

 

अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले सरकारको नाममा परमादेश जारी गरेको हो ।

 

आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सूर्तीजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सूर्तीजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए । परिवर्तित निर्देशिकामा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रांकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था थियो । यो व्यवस्था राखेबापत् त्यस बेला नेपालले १ लाख डलरको ब्लुम्बर्ग अवार्डसमेत जितेको थियो ।

 

सो निर्णयविरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सूर्तीजन्य पदार्थविरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावलीअनुसार सुर्ती उद्योगले ९० प्रतिशत चेतावनीयुक्त चित्र नछापेको भन्दै सर्वोच्च गएको थियो । सो रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले प्रति रिट दायर गरेका थिए । रिट परेको ८ वर्षपछि सर्वोच्चले सूर्ती उद्योगको रिट खारेजी गर्दै एक्सन नेपालका तर्फबाट हालिएको रिटको पक्षमा परमादेश जारी गरेको हो । यो निर्देशिका लागू भएपछि अब सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमूलक चित्रांकित स्वास्थ्य सन्देशले छोपिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?