राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा राजनीति नगरेको स्पष्टीकरण


काठमाडौँ,  १४  भदौ  (अबप)  :  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा आफूले कुनै राजनीति नगरेको स्पष्टीकरण दिएका छन् ।
नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले सार्वजनिक चासोको विषय भएकाले प्रमाणीकरणका लागि शीतल निवास पठाइएमा पुनः मुल्तवीमा राख्न सक्ने आशंकाबीच प्रमाणीकरणको पक्षमा पक्षपोषण गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाली कांग्रेसका नेताहरूसँग सोमबार भएको भेटघाटमा राष्ट्रपति भण्डरीले उक्त आशयको सप्ष्टीकरण दिएको कांग्रेसका महामन्त्री गगन थापाले बताए ।

भेटवार्तामा सहभागी महामन्त्री थापाले राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै भने, “राष्ट्रपतिले नागरिकता विधेयकमा मेलै कुनै राजनीति गरेको छैन, मलाई लागेको कुरा लेखेर पठाएको हो भन्नुभएको छ।”

राष्ट्रपति भण्डारीको भनाइपछि प्रधानमन्त्री देउवाले नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विषयमा आफूलाई कुनै गुनासो नरहेको बताएको थापाले जानकारी दिए । उनले अगाडि भने, “प्रधानमन्त्रीले राष्ट्रपतिलाई तपाइँले आफ्नो काम गर्नुभएको हो। हामीले आफ्नो काम ग–यौँ। केपी ओलीले ल्याउनुभएकै अध्यादेशलाई जस्ताको तस्तै ल्याएको हो भन्नुभयो।” राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

 

प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री थापाले भने, “प्रतिपक्षका नेता केपी शर्मा ओलीले अहिले के आधारमा नागरिकता विधेयकको विरोध गरिरहनुभएको छ, मलाई अचम्म लागेको कुराचाहिँ त्यही हो। नागरिकताका धेरै विषय छन्, ती पछि आउँछन्, अहिलेचाहिँ सहमति भइसकेको र संविधानअनुसार नागरिकताबाट वञ्चित नागरिकका लागि विधेयक ल्याइएको हो।” राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँगै भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । यसैबीच, राष्ट्रपति भण्डारीले एमालेका नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा र शङ्कर पोखरेलसँग सोमबार नै छलफल गरेको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?