भारत सरकारको अनुदान सहयोगमा रुपन्देही जिल्लामा निर्माण भएको विद्यालय परियोजनाको उद्घाटन


काठमाडौं (असन बजार पत्रिका): नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृह मन्त्री श्री बालकृष्ण खाणले आज रुपन्देही जिल्लामा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यस परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन रहेका छन् ।


भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२.०९ करोडको लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।
भारत र नेपालबीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरुको कार्यान्वयनले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार अझ बलियो बनाउन तथा सामुदायिक तहमा व्यक्तिको विकासमा योगदान पुर्याउन भारत सरकारले निरन्तर पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?