राजनीतिक दाउपेचको नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाइयो


काठमाडौँ,  २१  भदौ (असनबजार पत्रिका)  : राजनीतिक दाउपेचमा परेको नागरिकता विधेयक अन्ततः प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ।

सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयसमक्ष पठाइएको छ । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भनी १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट कुनै संशोधन वा हेरफेर नगरी पहिलाको जस्तै पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको हो । राष्ट्रपति भण्डारीले २९ साउनमा नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदमा पुनर्विचार गर्नै पर्छ भन्ने बाध्यता छैन ।
संविधानको धारा ११३ मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ जस अनुसार यो विधेयकलाई राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?