निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रकी छोरीद्वारा जीवन रक्षाका लागि अपिल


काठमाडौं,  २ असोज  (अबप)  :  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् ।

 

जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् । बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट आइतबार अपरान्ह गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन्।

 

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा राखेको बताउँदै भनिन्, “स्कुुलमा रहेको बच्चा ल्याउन नदिने, औंषधि ल्याउन पनि नदिने गरी सरकारले प्रहरीहरु परिचालन गरेको, हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको र त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गर्दछु ।”

 

सुनिधिका अनुसार स्कुलमा बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको छोरी सुनिधिले जानकारी दिइन् । निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाभियोग पुष्टि नभएको भन्दै आज (आइतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारीमा थिए तर सरकारले नजरबन्दमा राखेर बाहिर जान नदिएको जबराबो परिवारले आरोप लगाएको छ ।

 

यता, राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गएको बताए पनि त्यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?