काठमाडौँ, १६ असोज : नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह–२०७९’ सम्पन्न गरिएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो ।
हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
उक्त समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगणलगायत सरकारी निकायका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो । फूलपाती बढाइँ समारोहअन्तर्गत आयोजित परेड प्रदर्शनमा सेनाले दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरेको थियो ।
सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण अघिल्लो वर्ष साङ्केतिकरूपमा मात्रै फूलपाती बढाइँ गरिएको थियो । बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँँ घरमा भित्र्याउने साइत मिलाएर टँुडिखेलमा फूलपाती बढाइँ गर्ने चलन छ । सैनिक मञ्चको बढाइँ हेर्न टँुडिखेल वरपर नागरिकहरुको बाक्लो उपस्थिति थियो ।
दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “विभिन्न कारणले जान नपाएकाहरु पनि भोलि र पर्सिसम्म जानुहुन्छ ।” विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् ।
कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयो । सवारी साधनहरुले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उहाँको भनाइ छ । काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उहाँले बताउनुभयो । सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासङ्घले सरकारसमक्ष माग गर्दै आएको थियो । शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । यो वर्ष दसैँ चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दसैँलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ । (रासस)