जुत्ता, चप्पल मर्मतबाट परिवार धान्न मुस्किल भएको यथार्थ तीतो


कमलामाई/सिन्धुली, ३  कात्तिक (राधिका बुढाथोकी)  :   सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) ।

जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुँडिएको जोड्नु उहाँको पेसा हो । यो पेसाले उहाँलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उहाँ बताउनुहुन्छ ।

हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिनुभयो । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रूपमा जन्मनुभएका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण लेखपढ गर्न नपाउनुभएका उहाँ सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य हुनुभयो ।

यो पेसा सुरु गर्दा उहाँ १६ वर्षे ठिटो हुुनुुहुन्थ्यो । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउनुहुन्थ्यो । महोत्तरीबाट २० रुपियाँ गाडीभाडा तिरेर माढीबजार आएको उहाँलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।

समय सधैँ कहाँ एकैनास हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियो । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरू बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिवर्तन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकासियो । समय पूरै परिवर्तन भयो । उहाँ भन्नुहुन्छ, “तर हाम्रा दुःख ज्युँका त्युँ छन् । मेहनत र सङ्घर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।”

आधुनिक प्रविधिको जमानामा पनि उहाँको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उहाँले आफ्नो जीवनशैली परिवर्तन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताउनुभयो । “मेरो छोरो र भाइहरू सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्”, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ”, उहाँले भन्नुभयो ।

जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पुर्‍याउनै धौधौ हुने उहाँको भनाइ छ । “कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनुपर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुन तेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाईइमहिनामा १०–१५ हजार पनि हुँदैन”, उहाँले सुनाउनुभयो ।

नथुनीको भाइ राजकुमार राम (वर्ष ३९) को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा पर्नुभयो । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत जानुभयो । लेखपढ नभएको उहाँलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सक्नुभएन । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगानलगायतको (जो अहिले गरिरहनु भएको) सीप सिकेर गर्ने निर्णयमा पुग्नुभयो । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरूले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उहाँले बताउनुभयो ।

राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उहाँले सुनाउनुभयो । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उहाँको भनाइ छ । “कोठा लिएर पसल खोल्नसमेत नसकेर धुलोधुवाँ, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बिताउनुपरेको छ”, उहाँले भन्नुभयो, “पसल खोल्न पैसा छैन । बिनाधितो बैङ्कले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ?” उहाँले दुःखेसो पोख्नुभयो ।

जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नुभएन । आमाको पनि दुःखद निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैनथ्यो । उहाँले विगतलाई सम्झिँदै भन्नुभयो, “नपढे तापनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुँदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।”

यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उहाँले सुनाउनुभयो । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उहाँले बताउनुभयो । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा पनि केही सहयोग लिन नसकेको उहाँको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैिमात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्थे भन्ने उहाँलाई लागेको छ ।

नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विश्वेश्वर राम (४२ वर्ष) को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष बिताएर आफ्नो देश फर्किनुभएका उहाँले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिनुभएको हो ।

छोरा सञ्जय राम (१७ वर्ष) र भतिजा विजय राम (२८ वर्ष) पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम (७० वर्ष) अझैसम्म यही काम गरिरहनु भएको उहाँले बताउनुभयो । “आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोसिस गरेँ, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पटाइदिन्छु,” उहाँले भन्नुभयो ।

चार छोरी र दुई छोराका बाबु बताउने विश्वेश्वर दुई छोरीको बिहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउनुहुन्छ । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उहाँको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् ।

सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उहाँहरू सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौँ या त भारतका बजारमा लिन जानुपर्छ । स्थानीय सरकारले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हप्ताकाे शनिबार ५० रुपियाँका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले (३७ वर्ष) बताउनुभयो ।

यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेबापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरूको सीपलाई सम्मान नगरेको उहाँको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवर्द्धन गर्न सके स्थानीय स्तरका धेरै युवाले रोजगारी पाउने उहाँको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उहाँले बताउनुभयो ।

नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष बित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उहाँले भन्नुभयो, “खेतबारी छैन, पेट पाल्नका लागि जसरी भए पनि कमाउनैपर्‍यो ।”

उहाँ जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपियाँसम्म कमाउनुहुन्छ । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटाउन, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतका लागि खर्च पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझ्दिने उहाँको गुनासो छ ।

यो रामहरूको पुर्ख्यौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उहाँहरूको पेसाले सम्मान पाउन सकेको छैन । उहाँहरूको सीपलाई संरक्षण तथा प्रवर्द्धन गरी व्यावसायिक रूपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उहाँहरूको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरू बताउँछन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?