रुसद्वारा कब्जा गरिएको युक्रेनी क्षेत्रमा मार्शल लः लागू


मस्को,  ३  कात्तिक :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको बलमा रुसमा गाभिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन (मार्शल लः) लागू गरेका छन् ।
युक्रेनका डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसोनमा सैनिक शासन लागू गर्नेसम्बन्धी आदेश जारी गर्दै पुटिनले ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको बताएका छन् ।

पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा रहेका रुसी सैनिकलाई थप अधिकार प्राप्त हुने छ । ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अधिकार पनि सैनिकहरूलाई दिइएको छ । साथै राष्ट्रपति पुटिनले गाभिएका क्षेत्रका स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गर्न रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनको नेतृत्वमा समन्वय समिति पनि बनाएको छ ।

पुटिनले जारी गरेको आदेशमा युक्रेनँंग सीमा जोडिएका क्रिमियालगायत आठ वटा क्षेत्रमा विशेष आर्थिक कार्यक्रम सञ्चालन गर्न पनि आदेश दिइएको छ । खेरसोनलगायत क्षेत्रबाट पछिल्ला दिनमा सर्वसाधारणहरु रुसतर्फ पलायन हुने क्रम बढेको छ । युक्रेनी सेनाले प्रति आक्रमण तीव्र बनाएपछि रुसी सेनाले त्यहाँ रहेका सर्वसाधारणलाई रुसतर्फ स्थानान्तरण गरिरहेको छ। (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?