काठमाडौं, ७ मंसिर : काठमाडौं क्षेत्र नं ५ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनको विजयीसँगै नेकपा एमाले नेता ईश्वर पोखरेलको आगामी संसदीय यात्रा समाप्त भएको छ । प्रदीपले १५ हजार २३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।
काठमाडौँ– ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी
काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गर्नुभएको छ । उहाँले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ । कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।
काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी
काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।
ललितपुर–१ मा चार हजार छ सय १४ मतान्तरले उदयशम्शेर विजयी
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ । यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गर्नुभयो । कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार आठ सय दुई मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।
काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’
काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गर्नुभएको हो । यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी हुनुभएको मतदान अधिकृत शाहीले जानकारी दिनुभयो ।
काठमाडौँ–७ प्रदेश (२)मा एमालेका श्रेष्ठ विजयी
काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (२)मा नेकपा (एमाले)का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२)को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी
भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिनुभयो । एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ–६ (२)मा एमालेका मास्के विजयी
काठमाडौँ ७ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गर्नुभएको छ । टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।