पत्रकारिता मानवअधिकारप्रति जिम्मेवार हुनुपर्छ ; अध्यक्ष धर्मेन्द्र झा


चन्द्रपुर (रासस) राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जनमैत्री र मानवअधिकारप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।राससको सहकार्य तथा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा मङ्गलबारदेखि पर्साको वीरगञ्जमा सञ्चालित सञ्चारकर्मीका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै उहाँले राससलाई स्थानीय जनताससम्म लैजानका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । मधेस प्रदेशमा बोलीने स्थानीय भाषाहरू संरक्षण र सम्वद्र्धनका लागि राससबाट बुलेटिन प्रकाशन गर्नका लागि सरकारले ध्यान दिनुपर्नेमा अध्यक्ष झाले जोड दिनुभयो । उहाँले मधेश प्रदेश सरकार र जनताबीचको पुलको काम गर्न आगामी दिनमा राससले विशेष ध्यान दिने बताउनुभयो । अध्यक्ष झाले राससलाई अन्तर्राष्ट्रियस्तरको समाचार एजेन्सी बनाउन डिजिटल प्रविधिमा आफ्नो ध्यान गरेको जानकारी दिनुभयो ।रासस देशको जिम्मेवार संस्था भएको चर्चा गर्दै उहाँले समाज परिवर्तनका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष झाले रासस देश र जनताको माध्यम भएकाले जनहितमा काम गर्ने औजारलाई सबल बनाउनुपर्ने पर्ने बताउनुभयो । राससका पत्रकारलाई आफ्नो दायित्व र कर्तव्यको ज्ञान दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले बताउनुभयो । उहाँले अब राससका समाचारदाताले ‘फिल्ड’मा गएर बढीभन्दा बढी समाचार सङ्कलनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राससका प्रधानसम्पादक एकराज पाठकले पत्रकारिता गर्न चनाखो र बहुआयामिक हुनुपर्ने बताउनुभयो । उहाँले समाचार चिन्ने, केलाउने र समाज परिवर्तनका लागि ठोस समाचार र आलेख लेखनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रधानसम्पादक पाठकले राज्य र जनतालाई पुलको काम गर्न देशकै पुरानो इतिहास बोकेको रासस र यसमा आबद्ध सञ्चारकर्मीले ध्यान दिन जरुरी रहेको जनाउनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले राससले समावेशिताका आधारमा आम पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यसखाले कार्यक्रमले पत्रकारको दक्षता बढाउन सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा राससमा कार्यरत मधेस प्रदेश कार्यालय सहयोगी सूर्यप्रसाद बराल, सत्यप्रसाद श्रेष्ठलगायतलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?