टानका अध्यक्ष बाँस्तोला नेपाल उद्योग वाणिज्य महासङ्घ पर्यटन समितिको उपाध्यक्षमा चयन


काठमाडौँ । देशभरका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समितिको उपाध्यक्षमा निलहरि बाँस्तोला चयन हुनुभएको छ ।

आइतबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन तथा हवाई यातायात समिति विस्तार गरी ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष बाँस्तोलालाई उपाध्यक्षमा चयन गर्नुभएको हो ।

अध्यक्ष ढकालले पर्यटन तथा हवाई उद्योग यातायात समितिको उपाध्यक्षमा यसअघि नै देशबन्धु बस्नेत (अजित)लाई चयन गर्नुभएको थियो ।

को हुन् निलहरि बाँस्तोला ?

विस २०३५ पुस २९ गते सगरमाथाको काख सोलुखुम्बु नेचा सल्यान गाउँपालिकामा जन्मनुभएका बाँस्तोला जन्मदेखि नै पर्यटकीय गतिविधिमा परिचित हुनुभयो । १६ वर्षको कलिलो उमेरदेखि पर्यटकीय गतिविधिमा सामेल हुनुभएका बाँस्तोला विस २०५२ सालदेखि भने पूर्ण रुपमा पर्यटन व्यवसायमा आवद्ध हुनुभयो ।

विस २०५८ सालदेखि एशियन हेरिटेज कम्पनीमार्फत सक्रिय हुनुभएका बाँस्तोलाको हाल एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । यस्तै, उहाँ एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।

उहाँले सन् २००२ मा टानको साधारण सदस्य लिनुभएको थियो । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गर्नुभएको छ । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा रहेर नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको अनुभव बाँस्तोलासँग छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ गत वर्ष टानको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?