सभामुख घिमिरेसँग रुसी राजदूतको भेट


काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले शिष्टाचार भेट गरेका छन् । सोमवार सिंहदरवारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेका छन् ।

उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको भन्दै सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे ।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?