फुटवेयर उत्पादक सङ्घको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने


काठमाडौँ, ६ माघ । फुटवेयर उत्पादक सङ्घ नेपालको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । सङ्घको शुक्रबार साँझ सम्पन्न २२औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य विनोदमणि भट्टराईले जानकारी दिनुभयो ।

सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले फुटवेयर उद्योगको दिगो विकास, स्थायित्व, संरक्षण र प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालिन कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्र विकासका लागि फुटवेयर क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले फुटवेयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न व्यवसायी सङ्घ संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?