बाढीको बबण्डर


अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ ।  प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ ।

त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । यसैगरी मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको आज साँझ एक सूचनामार्फत जानकारी दिएको छ । विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ । युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ ।

वर्षाका कारण सिरहामा करिब एकसय घर डुबानमा

त्यसैगरी लहानमा तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका करिब एकसय घर डुबानमा परेका छन् । बाढीबाट सिरहा सदरमुकामसहितका प्रमुख बजारहरु जलमग्न भएका छन् । वर्षाको पानी निकास नहुँदा कर्जन्हा गाउँपालिकास्थित पासवान टोलका करिब ४० घर तथा कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनाका करिब २५ घर जलमग्न भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । यस्तै, सिरहाको लहान नगरपालिका–१ स्थित दलित बस्तीमा समेत पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । मिर्चैया नगरपालिकाको पुरानो हटियास्थित केही घरमा समेत पानी पसेको छ । त्यस्तै, पानीको निकास नहुँदा सदरमुकाम सिरहास्थित अधिकांश सरकारी कार्यालय जलमग्न भएका छन् भने मुख्य सडकमा दुई फिटसम्म पानी जमेको छ । सदरमुकामस्थित जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, पशु सेवा, जनस्वास्थ्य, विद्युत् प्राधिकरणलगायत एक दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै, सदरमुकामको मुख्य सडकबाट पानी बग्न थालेको छ । त्यसैगरी, अत्यधिक वर्षा भएपछि लहानस्थित जिल्ला वन कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत कार्यालयमा पानी जमेको छ । वर्षाकै कारण सिरहाको मिर्चैया नगरपालिका र गोलबजार क्षेत्र समेत जलमग्न भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा करिब दुई फिट पानी सडकबाटै बग्न थालेको स्थानीयले बताएका छन् ।

बाढीबाट एकदर्जन सडक क्षतिग्रस्त, चार दिन विद्यालय बन्द

त्यस्तै राजविराज (सप्तरी)बाट प्राप्त समाचारअनुसार अविरल वर्षासँगै आएको भीषण बाढीका कारण सप्तरीका विभिन्न ठाउँमा रहेका एक दर्जन सडक क्षतिग्रस्त भएका छन् । जिल्लाको शहरी तथा ग्रामीण क्षेत्र जोडने मुख्य तथा सहायक सडक र कृषि सडक बाढीले ठाउँठाउँमा टुटफुट भएको छ भने कतिपय ठाउँमा बाढीले कटानसमेत गरेको छ । बाढीको निकास नभएका कारण कतिपय सडकलाई सरकारीस्तरबाट डोजर लगाएर पानीको निकास दिइएको छ । राजविराज नगरपालिका भित्र पनि ठाउँठाउँमा डोजर लगाएर सडकहरु काटिएको स्थानीय प्रशासनले जनाएको छ । राजविराज–कुनौली सडक खण्डको तिलाठी, बोदेवरसाईन, शम्भुनाथ, हनुमाननगर–राजविराज सडकखण्ड, तोपा–कञ्चनपुर–फत्तेपुर सडकखण्ड, मोहुवा–बेलही जाने बाटो, सकरपुरा, कोइलाडी बसाईनलगायत ग्रामीण क्षेत्रको पक्की ग्राभेल तथा कच्ची सडक बाढीले क्षतिग्रस्त भएको स्थानीयबासिन्दाले बताएका छन् । वर्षा र बाढीका कारण सप्तरीका करिब ७० हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । अधिकांश सडक, गाईगोठ, कच्ची तथा पक्की घरमा पानी पसेको र दैनिक क्रियाकलाप र व्यापार व्यवसाय ठप्प भएको छ । बाढीले उद्योग, कलकारखाना, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्थाको कामसमेत प्रभावित भएको बताइएको छ । यसैबीच, आइतबारदेखि बुधबारसम्म सप्तरीका सम्पूर्ण विद्यालय बन्द हुने भएका छन् । बाढीबाट अत्यन्त प्रभावित राजविराज नगरपालिका–९ लगायत केही वडा तथा ग्रामीण क्षेत्रमा स्थानीय प्रशासनले च्यूरा, भूजालगायत खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । मोहुली र खाँडो खोलाको बाँध आज पनि केही ठाउँमा क्षतिग्रस्त भएको र त्यस क्षेत्रका जनता त्रसित अवस्थामा रहेको बताइएको छ । राजविराज बजारमा चार फिटसम्म पानी जमेको र घरघरमा पानी पस्न थालेपछि स्थानीय प्रशासनले डोजर लगाएर पानीको निकास दिएको राजविराज नगरपालिकाले जनाएको छ । बाढीले केही दिन अगाडि राजविराज–५ स्थित पडरीयामा ग्राभेल गरिएको बाटो तथा हुलाकी सडकसमेत क्षतिग्रस्त भएको छ । त्यसैगरी, जिल्ला सिँचाइ कार्यालय, भूसंरक्षण कार्यालयले विभिन्न ठाउँमा निर्माण गरेको नहर र जलाधार संरक्षण कार्यसमेतमा क्षति पुगेको बताइएको छ । त्यस्तै, अविरल वर्षासँगै खाँडो नदीमा आएको बाढीले बाँध भत्काएर गाउँतर्फ पसेपछि सप्तरीको एकमात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । पानी ३÷४ फिट सम्म जमेपछि औधोगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग बन्द भएका छन् भने औद्योगिक क्षेत्र नजिकै राजविराज–रुपनी सडक कटान गर्न थालेको छ भने सडकमाथिबाट पानी बग्न थालेको छ ।  अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौना नजिकै रहेको पुल नजिकै कटान हुन थालेपछि खतराको संकेतस्वरुप रातो झण्डा गाडिएको छ भने अहिले एकतर्फीमात्र यातायात सञ्चालन भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ । सप्तरीको खडक खोलामा आएको बाढी बाँध भत्काएर गाउँमा पसेपछि बोदे बर्साइन नगरपालिका–१ स्थित जाँजर टोल जलमग्न भएको छ भने सोही वडाको भाटिनस्थित सडकमा दुई फिटसम्म पानी बग्न थालेको छ । पानीको मुल थुनिएपछि सोही नगरपालिका वडा नं १३ स्थित सिलहट परसाहीस्थित आधारभूत स्कुलको कम्पाउण्ड वाल भत्किएको छ ।

कमला नदीको बाढीबाट दर्जनभन्दा बढी गाउँ डुबानमा

त्यस्तै महेन्द्रनगर (धनुषा)बाट प्राप्त समाचारअनुसार समस्त धनुषा जिल्लाको जनजीवन तीन–चार दिनदेखिको भारी वर्षाले अस्तव्यस्त तथा कष्टकर बनेको छ । सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाटबजार तथा विभिन्न विद्यालय जलमग्न भएका छन् । अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघले जनाएको छ । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ । सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । विकास निर्माणका काम ठप्प भएको छ । अधिकांश खेत डुबानमा परेका छन् । डुबानले धान गल्ने र बसोबासका कमजोर कच्ची घर भत्किने सम्भावना बढेको छ । पूर्वी धनुषाको कमला नदीमा आएको बाढीबाट दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । कमला नदीमा आएको बाढीका कारण छेउछाउका ढोलबज्जा, किरतपुर, बरमझिया, रघुनाथपुर, सबैला, सोनापारालगायत गाउँ जलमग्न बनेका छन् । बरमझिया गाउँको घर–घरमा पानी पसेको छ भने चारनाथ खोलामा आएको बाढीको कारण छिहत्तरी विगाह गाउँका २० घर जोखिममा छन् । यसैगरी, किरतपुरस्थित कमला नहरमा आएको पानीको उच्च बहावका कारण तटबन्ध भत्काएको छ । भत्केको तटबन्ध मर्मत गर्न स्थानीयवासी तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकहरु घटनास्थलमा पुगेको स्थानीय विशेश्वर यादवले बताउनुभयो । मध्य धनुषाबाट बग्ने जलाद नदीमा पानीको उच्च बहाव छ । स्थानीयवासीका अनुसार वर्षा नथामिए, जलाद नदीमा पनि बाढी आउन सक्छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिभिजनल इन्जिनियर आनन्दकुमार झाका अनुसार कमला नदीको बाढीबाट हालसम्म कुनै क्षति भने भएको छैन । रातिको बाढीबाट किरतपुर नजिकको बाँध क्षतिग्रस्त भए पनि रातिदेखि नै स्थानीयवासीको सहयोगमा मर्मत संभार भइरहेको छ । यसैगरी, बाढीको उच्च जोखिममा रहेको ७६ विगाहको २० घर जोगाउन युद्धस्तरमा काम भइरहेको डिई झाले जनाउनुभयो ।

यसैगरी, पानीको निकास हुन नसकी जनकपुर उपमहानगरपालिकाका कम्तीमा पाँच वडा जलमग्न छन् । अविरल वर्षाको कारण जनकपुर नगर क्षेत्रको मुसलमानबस्ती, किसोरीनगर, आनन्दनगर, शान्तिनगर, हवाईअड्डा तथा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत क्षेत्र डुबानमा परेका छन् । भानुचोकदेखि शिवचोकबीचको सडक जलमग्न छ भने मिल्स एरिया–जानकी मन्दिर जाने बाटोमा पनि दुई फिटसम्म पानी जमेको छ ।  एशियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ढल तथा सडक निर्माणको क्रममा सडक उप्काइए पनि समयमै नपुरिएकाले मिल्स एरिया–भानुचौक सडक झण्डै तीन सातादेखि अवरुद्ध छ । पानी परेयता यस क्षेत्रमा बसोबास गर्नेहरुलाई आवतजावत गर्न समेत कठिन भएको छ ।

लगातार तीन–चार दिनदेखि भइरहेको वर्षाका कारण नगर प्रवेश गर्ने मुख्य सडक डुबानमा परेका छन् भने अधिकांश नगरवासीको घरमा पानी प्रवेश गर्दा जनजीवन अस्तव्यस्त बनेको छ ।

जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा समेत एक फिटभन्दा बढी पानी जमेका कारण बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको छ । अस्पताल परिसरमा पानी पस्दा बिरामी र कुरुवालाई औषधि ल्याउन, टिकट काट्न समस्या भएको छ ।
जनकपुर विमानस्थलको रनवे पानीले डुबेपछि जहाज अवतरण गर्न र उडान गर्न अप्ठ्यारो भएको छ । यस्तै, अवस्था रहे उडान रद्द गर्नुपर्ने अवस्था आउने विमानस्थलका कर्मचारीले बताएका छन् ।  नगरक्षेत्रमा वकिल टोल, मिल्स एरिया, कदम चोक, विश्वकर्मा चोक, क्याम्पस चोकमा रहेका सयौं घरमा पानी पसेपछि सर्वसाधारणलाई दैनिकी चलाउन कठिन भएको छ ।

तैरिरहेको अवस्थामा बालकको शव फेला

त्यस्तै खोटाङबाट प्राप्त समाचारअनुसार जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् ।  साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ ।

साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् । रासस

खोलाले बगाएर दुईजनाको मृत्यु

त्यस्तै हेटौँडाबाट प्राप्त समाचारअनुसार गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । मृत्यु हुनेहरुमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीय वीरबहादुर घलान रहेको जिप्रका मकवानपुरले जनाएको छ ।
यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभ¥याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौँडा–वीरगञ्ज तथा हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभएको छ । मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकिएको उहाँले बताउनुभयो ।

खोलाले बगाउँदा बालिकाको मृत्यु

त्यस्तै कैलालीबाट प्राप्त समाचारअनुसार कैलालीको टीकापुरमा खोलाले बगाउँदा शनिबार एक सात वर्षीय बालिकाको ज्यान गएको छ ।  टीकापुर नगरपालिका–९ की लाजुराम चौधरीकी छोरी सिर्जना चौधरीको खोलाले बगाउँदा ज्यान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?