सिरहामा रासायनिक मलको अभाव


लहान: गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् ।
बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।
सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान आएका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गर्नु भएको छ । उहाँले धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो ।
कृषि सामग्री कम्पनी लहानबाट उपलब्ध भएको थोरै डिएपी र युरिया मल स्थानीय डिलरहरुले अत्यधिक महँगोमा बेच्ने गरेको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरेका छन् ।
जिल्लाका सहकारी संस्थाले भने तीन–चार दिन धाएपछि मात्र कृषि सामग्री कम्पनी शाखा लहानमार्फत थोरै परिमाणमा डिएपी र युरिया मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन् ।
यता कृषि सामग्री कम्पनी शाखा लहानका शाखा प्रबन्धक चन्द्रप्रसाद चौलागार्इंले युरिया र डिएपी मल सहजरुपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको बताउनुभयो ।
उहाँका अनुसार कम्पनी शाखाको गोदाममा मात्र ४८५ बोरा डिएपी मल रहेका छन् युरिया मल एक बोरा पनि गोदाममा छैन । गत कात्तिक महिनायता हालसम्म युरिया मल सात हजार ५०० बोरा र डिएपी १२ हजार २१७ बोरामात्र आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कम्पनीले युरिया प्रतिबोरा रु ७३८ र डिएपी रु दुई हजार १८८ का दरले बिक्री वितरण गर्दै आए पनि सहकारी संस्थाले निर्धारित मूल्यभन्दा बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ ।
रासायनिक मलको अभाव रहेको मौका छोपी सहकारीले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफ्नो कार्यालयमा हालसम्म उजुरी नपरेको प्रबन्धक चौलागार्इंको भनाइ छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?