ओमका तीन शाखा विस्तार


काठमाडौं: ओम डेभलपमेन्ट बैंकले काठमाडौंमा तीनवटा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा काठमाडौंको गोंगबू, बानेश्वर र ललितपुरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रमबीच मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्वील चेयर वितरण गरेको छ ।
अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकका विविध पक्षको जानकारी गराए । बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको र ग्राहकहरूलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको छ ।
बैंकले बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ । बैंकले ७५ हजारदेखि ७५ करोडसम्म कर्जा लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
नबिल फाउन्डेसन र तिलगंगा प्रतिष्ठान सम्झौता
काठमाडौं । नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच मंगलबार एक सम्झौता भएको छ । सो सम्झौतापत्रमा नबिल फाउन्डेसनका तर्फबाट अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङले हस्ताक्षर गरेका छन् । आँखाको नानीमा समस्या भएर दृष्टिविहीन भएका र आर्थिक अभावका कारण उपचार नपाएका दृष्टिविहीनहरूको सहयोगका लागि सो सम्झौता भएको हो ।
सम्झौताअनुसार सहयोग तिलगंगा आँखा प्रतिष्ठानले सिफारिस गरिएका व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न नबिल फाउन्डेसनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?