गोरखाको दुर्गम स्थानमा जीएसएम मोबाइल सेवा


काठमाडौं: नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।
गमलाडाडाँमा राखिएको बीटीएस टावरबाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिमलगायत आसपासका अति दुर्गम गाउँका बासिन्दाहरू मोबाइल सेवाबाट लाभान्वित भएका छन् । त्यसैगरी, ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लीलगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका बासिन्दा मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकसमेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने टेलिकमले जनाएको छ ।
गोर्खा जिल्लाका विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोबाइल सेवा पु¥याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३ हजार ५६५ मिटर उचाइमा र गमलाडाँडामा १ हजार ५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ ।
ल्हो गाउँ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहुँचबाट वञ्चितजस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै बस्तीहरू टाढाटाढा भएकाले टेलिफोन गर्न अर्काे गाउँसम्म पुग्नुपर्दा स्थानीय बासिन्दालाई निकै कठिनाइ भइरहेको थियो ।
नेपाल टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ ।
गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दूरीमा पर्छ । गोरखाको आरुघाट हुँदै सोतीसम्म गाडीमा गएर त्यसपछि करिब तीन दिन पैदल हिडेपछि गमलाडाँडा र त्यसपछि अर्को दुई दिनको पदयात्रा पछि ल्हो गाउँमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?