मन त नेपाली नै हो नि !


दोलखा उदमथलो भएकी गीतकार अम्बिका गुरुङ अमेरिकाको भर्जिनियामा वस्छिन् । प्रवासमा रहेर गीत रचना गरिरहेकी गुरुङसंग असन बजार साप्ताहिकका लागि तिलक तिवारीले गरेको गीत संवादः

गीतसंगीतको क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
गीत संगीतमा सानै उमेर देखिने लागेकी हुँ । बाल्य अवस्थामै संगीत मन पथ्र्यो । तर केहि पारिवारिक कारणले गर्दा २०१५ बाट मात्र म सक्रिय रुपमा गीत संगीतको क्षेत्रमा क्रियाशिल हुन सकें ।
गीत रचनाको तपाईको यात्रा नेपालमै हुदा शुरु गर्नुभएको या अमेरिका गइसकेपछि ?
नेपालबाटै सुरु गरेकी हुँ तर गीतकार अम्बिका गुरुङका रुपमा नेपालमा रहँदा मेरो छवि बनिसकेको थिएन ।
गीत संगीतले जीवनमा कस्तो अर्थ राख्छ भन्ने लाग्छ तपाईलाई ?
गीत संगीतको महत्वको विषयमा भन्न खोज्नुभएको होला । यसको महिमा अपरम्पार छ । गीतसंगीत मन नपर्ने मान्छे को होलान र । गीतसंगीतको अर्थ या महत्व यसलाई कुनै परिभाषामा सीमित गर्नु न्यायसंगत होला र ?
तपाईको लाउंछन आ“खा गीत पनि गीतकार संघको उत्कृष्ट १० गीत भित्र पर्न सफल भएको छ,कस्तो अनुभूति भइराखेको छ ?
निसन्देह एकातिर आफ्नो सिर्जना उत्कृष्ट हुदा राम्रो त लागिरहेको छ तर अर्कोतिर मलाई विश्वास पनि लागिरहेको छैन् ।
गीत मात्र लेख्नुुहन्छ कि लेखनका अन्य विधामा पनि कलम चलाउनुहुन्छ ?
काम चलाउ म सबै विधामा लेख्छु तर अहिले खास गरेर गीत बढी लेख्छु ।
गीत ठयाक्कै यहि बेलामा लेख्छु भनेर योजना बनाउनुहुन्छ कि फुरेको जुन सुकै बेला लेख्नु हुन्छ ?
गीत भनेको मनको भाव हो । आफ्नो साेंचमा भर पर्छ तर अहिले म गायकको माग अनुसार गीत लेख्छु । मलाई यस्तो किसिमको गीत चाहियो भनेर उहांले भनेपछि म कोशिस गर्छु । पहिला पढ्छु शब्दहरू खोज्छु अनि मात्र गीत लेख्छु किनभने म खासमा गीत लेख्ने मान्छे चाहीं थिइन । म कविता लेख्ने मान्छे हुँ । मलाइ गीतकार बनाउमा संगीतकारको भूमिका विशेष छ । सबभन्दा पहिला मेरो कवितालाई गीत बनाउने संगीतकार प्रकाश लेप्चाको ठुलो हात छ । उहाँनै हो मलाई गीतकार बनाउने । तपाईका कविता गीत बन्ने योग्यता राख्छन भनेर बताउनुभएको पनि मलाई उहांले नै हो । । अनि उहाँले मेरो २ वटा सोलो एल्बम पनि गर्नुभएकोे छ । भाबसागर एक र दुई अनि त्यसपछि उहाँले धेरै गीतहरू कम्पोज गर्नुभयो । मेरो गीतहरू अनि म बिस्तारै बिस्तारै बाहिर आउन थाले ।
गीत संगीतको अहिलेको वजार व्यवसायीक हिसाबवाट खस्केको बेला छ, तपाईका गीत निरन्तर रुपमा आइरहेका छन,गीत लेखन हजुरको सोख हो या के ?
अब यो चाहि मेरो सोख नै भन्नुपर्यो । अहिलेसम्म व्यवसायिक हिसाबवाट साेंचेकी छैन । अब पछि हुन् सक्ने सम्भावाना मैले देखेकी छु किनभने मैले एउटा टीम बनाएको छु । नयाँ गायकको मेरो टीममा धेरै राम्रो,मेहनेती,इमान्दार र सृजनशील व्यक्तित्व छन् । त्यसकारण मैले अहिले आशा गरेको छु र निरन्तर लागेकी हँु । तर सफल नभएपनि केहि छैन, मेरो टीमका नयाँ गायक गायीका सफल भए त्यसमै खुशी हुनेछुँ ।
अहिलेसम्म तपाईको लेखनका कति गीत बजारमा आए ?
अहिले सम्म मैले सय भन्दा बेसी गीत लेखिसकें । र ति सब बजारमा आउदै छन । कोहि म्युजिक भिडियो र कोहि लिरिकल भिडियोबाट बजारमा आउदैछन् । मैले आफ्नै म्युजिक कम्पनी खोलेको छु,भाबसागार इन्टरटेनमेन्ट एल एल सी ।
प्रवासमा हुनुहुन्छ, नेपालका सन्दर्भहरूले कत्तिको चिमोट्छन तपाईलाई ?
अवश्यपनि सर्जकहरू अक्सर भावुक हुन्छन, संवेदनशिल हुन्छन् । मपनि आफ्नै जन्मदेश नेपालमा भएका घटनाक्रमवाट निरपेक्ष त झनै कसरी रहन सक्छु र । देशवाट थरिथरिका समाचार आउंछन, कहिले राम्रा कहिले नराम्रा । राम्रा समाचारले हर्षविभोर गराउंछन,नराम्रा समाचारले दुखित बनाउंछन । अनि लेख्न मन लाग्छ । भौतिक हिसावले प्रवासमा भएपनि मन त नेपाली हो नी । आफ्नै देशका राष्ट्रिय आरोह अवरोहले आकर्षित गरिरहन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?