रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित


मस्को, ६ असार (रासस/एएफपी): विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए । खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो ।
शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो । निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए । पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ । विश्वकपअन्तर्गत आजै समूह ‘ए’ को उरुग्वे र साउदी अरेबिया पनि भिड्ने तयारीमा रहेका छन् ।
उरुग्वेले पहिलो खेल जितेकाले आजको खेल कम्तिमा बराबरी गरेमात्रै पनि प्रि क्वार्टरमा प्रवेश गर्नेछ । तर पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदीलाई प्रतियोगितामा टिकिरहन आजको खेल जित्नै पर्नेछ । आज उरुग्वे विजयी अथवा बराबरी भए मात्रै पनि अन्तिम १६ मा पुुग्दा इजिप्ट र साउदी प्रतियोगिताबाट बाहिरिने छन् ।
आजै राति पौने १२ बजे समुूह ‘बी’को इरान र स्पेन खेल्ने तालिका रहेको छ । आजको खेलमा इरान विजयी भए अन्तिम १६ को यात्रा सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?