सरकारले ९ महिना खेर फाल्यो, कसैले राम्रो भन्दैनन्


नेपालका पहिलो कम्युनिस्ट सरकार ०५१ मंसिर १४ गते गठन भएको थियो । मनमोहन अधिकारी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, त्यसको भोलिपल्ट उहाँले मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हामीले करिब ९ महिना अल्पमतको एकल सरकार सञ्चालन गर्ने मौका पाएका थियाैं त्योबेला ।

अहिले त्यो बेलाको मनमोहन नेतृत्वको नौ महिना सम्झिएर अहिले केपी ओली नेतृत्वको ९ महिनाको सरकारको उपलव्धी तुलना गर्दा साह्रै निराशा लाग्छ । भन्यो भने आफ्नै बढाइचढाइ गरेको जस्तो होला । तर, नेकपाको दुई तिहाई बहुमतको सरकारले यो ९ महिना खेरमात्र फालेन, हामीजस्ता कम्युनिस्ट आन्दोलनमा जीवन बिताएका मान्छेलाई त साह्रै निराश बनाएको छ ।

त्यो नौ महिना र यो नौ महिना तुलना गर्दा म यतिमात्र भन्न सक्छु- अहिले ९ महिनामा ओली सरकारले लिएको बाटोले हामीलाई कहीँ पनि पुर्‍याउँदैन । यही बाटो गयौं भने कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ । अझै केही बिग्रेको छैन, सच्याउने मौका छ । तर, यही बाटो गयौं भने कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ ।

त्यो ९ महिनाको गौरवपूर्ण सम्झना

त्योबेलाको ९ महिना सम्झिँदा आज मलाई मात्र होइन, सिंगो पार्टी र जनतालाई गर्व लाग्छ । यो यथार्थ हो । तर, सम्झिएर ल्याउँदा त्योबेला त हामीले सरकार बनाउने कुनै सम्भावना पनि थिएन । अहिले त बाम गठबन्धन बनेपछि नै नेपालमा बहुमतको कम्युनिस्ट सरकार बन्छ भन्ने ढुक्कै थियो ।

हामीले त्योबेला सरकारमा पुग्छौं भनेर कुनै योजनानै बनाएका थिएनौं । चुनावमा हामी ठूलो पार्टी भएर आयौं । त्यो बेला कांग्रेसले दुई तिहाई मागेर चुनावमा गएको थियो । हामी ठूलो पार्टी भएपछि पनि शेरबहादुर देउवाजीले राप्रपा मिलाएर सरकार बनाउन खोज्नुभएको थियो । तर, उहाँहरु नमिलेपछि हामीले अल्पमतको सरकार बनाउन पायौं ।

त्यस्तो बेलामा म संयोगले अर्थमन्त्री भएँ । हामीसँग कुनै प्रष्ट योजना र नीति थिएन । मंसिर १५ गते हामी मन्त्री भयौं । त्यसको एक महिना नपुग्दै महिलो पुस ११ गते बजेट गरेको हुँ । २२ दिनको तयारीमा बजेट आयो । त्यो बजेटबाटै हामीले कम्युनिस्ट भनेका फरक हुन्छन् भनेर देखायौं ।

आफ्नो गाउँ आफैं बनाउँ भनेर ३ लाख हरेक गाविसलाई बजेटसहित कार्यक्रम ल्यायौं । त्यो कार्यक्रम अहिलेसम्म लोकप्रिय छ । हामीले उद्योगको विकास गर्नुपर्छ भनेर कांग्रेस सरकारले लगाएको सम्पत्ति कर खारेज गरिदियौं । नेपालका उद्योगलाई संरक्षण गर्नुपर्छ भनेर २६ वटा उद्योग जोगायौं ।

पछि पारिएका समुदायका बालिकाहरुलाई स्कूल पठाउन वाषिर्क ६ सय रुपैया पोशाकका लागि दियौं । सहकारीको कर मिनाहा गरिदियौं गाउँ गाउँमा । साना घरेलु उद्योगलाई बढावा दियौं । यसले के ल्यायो भने देशमा नयाँ सरकार आयो । नयाँ दिन शुरु भएको सन्देश हामीले प्रवाह गरेका हौं । वास्तवमा त्यो बजेट भनेको त महेश आचार्यको बजेट थियो । अध्यादेशबाट ल्याएका थिए उनले ।

महेश आचार्यको बजेटलाई केही सुधार गरेर मैले ती कार्यक्रम ल्याएको थिएँ । यसबीचमा हामीले राजश्व बढाएका थियौं । हामीले २०५२ असारमा नेकपा एमालेको पहिलो बजेट पेश गरेका हौं । त्यो बजेमा हामीले बृद्धभत्ताको शुरुवात गर्‍यौं । जुन आजपर्यन्त हामीलाई सम्भिmने काम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?