जाडोले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु नपर्ने बताएका छन् । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताए ।

‘शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय,स्थानीय तह प्रशासन,निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ ’ प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन ।’

नेपालमा श्रमजीवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सँधै सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं’ प्रधानमन्त्री ओलीले भ भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’
प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताए ।

‘सामाजिक समानताका आधारमा गरिवलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीका कार्यक्रमहरु ल्याउछौं’ प्रधानमन्त्री ओलीले भने, ‘सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।’

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई त्रसित पार्न खोजेको आरोप लगाए ।
आधा शताब्वदी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराए ।

‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?