आइतबारदेखि श्रम स्वीकृतिकाे काम प्रदेशबाटै


काठमाडौं । वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका कामहरु आइतबारदेखि प्रदेशबाटै हुने भएको छ ।

सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई सरल र सहज बनाउन सातै प्रदेशबाट श्रम स्वीकृति लिन पाउने व्यवस्था गर्न लागेको हो । श्रम स्वीकृतिलगायत कामका लागि अब काठमाडौं आउनै पर्ने धन्झट पनि हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा आइतबार प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने छ ।

आइतबारदेखि जनकपुर र बुटवलबाट सञ्चालनमा आउने श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका काम गर्न सकिनेछ ।

अन्य प्रदेशमा केही समयपछि कार्यालय स्थापना गरिने श्रम मन्त्रालयले जनाएको छ । त्यसका लागि कार्यालय स्थापना लगायतको अन्तिम तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?