नक्कली सुन ‘सक्कली हो’ भन्दै ठगी गर्ने समातिए


काठमाडौं । नक्कली सुनका गहना देखाएर ‘सक्कली हो’ भन्दै ठगी गर्ने एक जना काठमाडौं जडिबुटीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–१७ स्थायी घर भई हाल ललितपुर बस्दै आएका राजु परियार रहेका छन् ।
झुक्याएर नक्कली सुन बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी इन्सपेक्टर एलिजा गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुन जस्तो देखिने बेरुवा औँठी ४१ थान, सादा औंठी १२ थान, सिक्री २१ थान, बाला, टप तथा १६ हजार नगद बरामद गरेको छ ।

विभिन्न व्यक्तिहरुको १२ थान नागरिकता र चक्कुसहित पक्राउ परेका परियारलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखेर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अपरिचित व्यक्तिहरुको नाममा रहेको ३ थान लाइसेन्सका साथै उनको साथबाट प्रहरीले जनावरको दाँतजस्तो देखिने वस्तु समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?