शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभाव : महानिरीक्षक खनाल


रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध, अनुसन्धान गर्नका साथै शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताएका छन् ।

रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अपराधीले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए ।
प्रहरीले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न अघि बढिरहेको उनको भनाइ छ ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिंगो संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब कर्मचारीलाई हटाउने कार्य पनि भएको उनले बताए ।

यसैबीच रौतहटको सदरमुकाम गौरमा विभिन्न दश स्थानमा उच्च प्रविधिको सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेका स्थानहरुमा निगरानी बढाउन प्रशासनले प्रविधिको सहयोग लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?