६ हजार रुपैयाँ घुससहित नासु पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निजहरु (राजभण्डारी र शाक्य)लाई ६ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नायब सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग राजभण्डारी र शाक्यले घुस मागेको सूचना प्राप्त भएपछि अख्तियारले उनीहरु माथि निगरानी बढाएको थियो ।

यसैक्रममा आइतबार टंगालस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले घुस लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?