विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई गच्छदारको चुनौती


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको स्वास्थ्य संस्था सरकारले खारेज गर्न लागेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा गच्छदारले कांग्रेसका नेताहरुको नाममा स्थापना गरिएको स्वास्थ्य संस्था खारेज गर्न खोज्नु सरकारको पूर्वाग्राही नियत भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि संसदलाई सम्बोधन गर्दा पनि यसबारेमा सकारात्मक निर्णय हुने भनेर बोलेको कुरा अहिले आउँदा झुटो सावित भएको बताए ।

नेपाली कांग्रेसका नेताहरुको नाममा स्थापना भएका सबै संरचना खारेज गर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई चुनौती दिए ।

सरकारले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय गरेर लोकतन्त्रको इतिहास नै मेट्न खोजेको उनले आरोप बताए ।

उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको स्वास्थ्य संस्थाको अस्तित्व कायम राख्न ठोस आदेश नभएसम्म सदनको कुनै पनि कारवाही अघि बढ्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?