संसद बैठक : शिक्षामन्त्रीलाई घेरे कांग्रेस सांसदले


काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक दोस्रो पटक पनि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण बैठक अवरुद्ध भएको हो ।

दोस्रो पटक शुरु भएको बैठकमा सभामुख कृष्णबहादुर महराले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव जबर्जस्ती पेस गर्न अनुमति दिएपछि प्रतिनिधिसभा बैठकमा तनाव सिर्जना भएको छ ।

सभामुखको अनुमतिपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोस्टममा जान खोजेपछि कांग्रेस सांसदहरुले उनलाई घेरेका थिए ।

सभामुखले त्यसपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् । यसअघि पनि कांग्रेस सांसदहरुको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

यसअघि सोमबारको बैठक पनि दुई पटकसम्म कांग्रेसले अवरोध गरेपछि मंगलबारको लागि बैठक सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?