कांग्रेसले आज देशभर प्रदर्शन गर्दै


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्ने भएको छ ।
७७ वटै जिल्लामा हुन लागेको विरोधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् ।
यसैगरी उपसभापति विमलेन्द्र निधिले धुनषामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महामन्त्री सशांक कोइरालाले नवलपुरको विरोध प्रदर्शनको नेतृत्व गर्ने भएका छन् भने पूर्व महामन्त्री कृष्ण सिटौला झापा पुगेका छन् ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् । नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन् । युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने छन् ।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए ।

काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए । उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टाछुट्टै कार्यक्रम गर्नेछन् ।

कांग्रेसले सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदर्शन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?