नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, सरकारले जनही ५ लाखका दरले सम्मान गर्ने


काठमाडौैं । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई सोमबार रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ ।

विजयी नेपाली टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशबकुमार विष्टले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल टोलीको स्वागतका लागि पुगेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिएका छन् ।

यूएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय शृंखला २–१ (दुबैमा) जितेर फर्किएको नेपाली क्रिकेट टोलीको स्वागतका लागि तिमल्सिनासँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशबकुमार बिष्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरेका थिए ।

क्रिकेट टोलीको स्वागतका लागि त्रिभुवन विमानस्थलमा पहिलो पटक रातो कार्पेट ओछ्याइएको थियो । विमानस्थलमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको मेहनतले शृंखला जित्न सफल भएको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक जनाको प्रदर्शनले भन्दा समग्र टोलीले राम्रो खेलेका कारण जित सम्भव भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?