कांग्रेसद्वारा संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको छ ।
माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति असन्तुष्टि जनाउँदै समितिको आइतबारको बैठकमा कांग्रेस सदस्यहरू उपस्थित नभएका हुन् ।

दुई साता अघि बसेको सुनुवाइ समितिको बैठकलाई पनि कांग्रेसले बहिष्कार गरेको थियो । संवैधानिक परिषद्को बैठकका निर्णयप्रति कांग्रेसको विरोध रहेकाले उपस्थित नभएको कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।

परिषद्को निर्णय प्रक्रियामा असहमति रहेकाले लिखित रुपमा उपस्थित नहुने जानकारी अघिल्लो बैठकमै पेस गरेको उनको भनाइ छ ।
यसैबीच संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ फागुन ७ गते मंगलबार गर्ने भएको छ ।

बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीको सुनुवाइ फागुन ७ गते गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले गरेका विभिन्न ५ वटा आयोगका पदाधिकारीमाथि एउटा मात्रै उजुरी समितिमा परेको छ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि मात्रै एउटा उजुरी परेको पाइएकाले त्यसको अध्ययन गरी उजुरीकर्तामाथि पनि फागुन ७ गते नै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?