संवैधानिक आयोगमा प्रस्तावित ५ अध्यक्षविरुद्व परेका उजुरीमाथि छलफल हुँदै


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सुनवाइ समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरीमाथि आजबाट छलफल गर्दैछ ।

समितिको सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी खोल्ने कार्यसूचि छ ।

संवैधानिक परिषदले सिफारिस गरेका पाँच आयोगका अध्यक्षमध्ये मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध मात्रै उजुरी परेको छ । उनीविरुद्ध बिभिन्न पाँचवटा उजुरी दर्ता भएको समितिले जानकारी दिएको छ । आजको बैठकमा उजुरीकर्तासँगको छलफलको मिति तय गर्ने समितिको तयारी छ ।

 

कांग्रेसले भने प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितीमा परिषद बैठक राखिएको भन्दै निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको छ । समितिको आजको बैठक पनि बहिस्कार गर्ने कांग्रेसको तयारी छ । यसअघि समितिले दश दिने समयसीमा राखेर प्रस्ताविक अध्यक्षहरु विरुद्ध उजुरी आव्हान गरेको थियो ।

संवैधानिक परिषदको यही गत माघ ६ गते बसेको बैठकले मुस्लिम आयोगमा समिम सहित राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?