सोमबार ४ सय ५७ जना कोरोना सङ्क्रमित थपिए


काठमाडौं,  २  साउन  :  देशभर पछिल्लो २४ घण्टामा ४ सय ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार चार हजार ६ सय ५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार ३ सय ४१ जनाको आरटी पीसीआर गर्दा ३ सय ८६ जनामा र दुई हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १ सय ६३ जना काठमाडौंमा, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७ सय ७६ पुगेको मन्त्रालयले सोमबार जनाएको छ । शून्य सङ्क्रमित भएका  आठ जिल्ला छन् ।
सक्रिय सङ्क्रमितमध्ये एक हजार ७ सय १ जना होम आइसोलेसनमा, ७५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत् बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा छन् । (असनबजार पत्रिका)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?