४ सय ५६ जनामा कोरोना पुष्टि, सबैभन्दा बढी काठमाडौं उपत्यकामा


काठमाडौं,  ६  साउन  :  कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५६ जना कोरोना सङ्कमित थपिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ८ सय ३८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार १ सय ६८ जनाको आरटी पीसीआर गर्दा ३ सय ८४ जनामा र एक हजार ६ सय ७० को एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएकोे हो । परीक्षण गरिएकामध्ये ११.८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी २ सय ४९ जना काठमाडौं उपत्यकामा रहेका छन् । जसमा काठमाडौंमा १ सय ७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा ८० जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार ७ सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८ सय ४१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये, काठमाडौं उपत्यकामा मात्रै एक हजार ८ सय ८२ जना सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमितमध्ये दुई हजार ७ सय ८ जना होम आइसोलेसनमा, १ सय ३३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये २२ जना आइसीयूमा छन् । नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला आठ पुगेका छन् । सरकारले कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ । सरकारले मानिसकको भीडभाड हुने ठाउँहरुमा अनिवार्य माक्स प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउन आग्रह गरेको ।

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय हवाई स्थालगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस्तै, गोष्ठि सेमिनार, बैठक जस्तै भीडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा जाँद माक्सको अनिवार्य प्रयोग गर्न सरकारको सुझाव छ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?