पेलोसीको यात्राबाट तिलमिलाएको चीन ताइवानलाई घेराव गर्ने दाउपेचमा


काठमाडौं,  १९  साउन  (असनबजार पत्रिका)  :  अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान यात्राबाट तिलमिलाएको चीन लाइभ फायर ड्रिलको नाममा ताइवानमाथि आक्रमण गर्ने तयारीमा रहेको छ ।

 

पेलोसीको यात्रापूर्व आक्रमण गर्ने धम्की दिन नचुकेको चीन पेलोसीको करिब २० घन्टाको यात्रावधिमा मूकदर्शक अर्थात् घटनाक्रमको दृष्यलाई टुलुटुलु हेर्ने र त्यसको मात्र साक्षी बन्नुबाहेक एउटा तिलको गेडा पनि नोक्सान गर्न नसकेको चीन अहिले अन्तर्राष्ट्रिय सामुद्रिक रेखाको स्थापित मान्यताविरुद्ध युद्धाभ्यासमा जुटेर दबाबमूलक दाउपेचमा ओर्लेको छ ।

चीनका विदेशमन्त्री वाङ यीले पेलोसीको ताइवान यात्राले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको ठाडो उल्लंघन गरेको बताएको छ । आसियान राष्ट्रको सम्मेलनमा भाग लिइरहेका वाङ यीले अमेरिकाले चीनसँग आगोसित खेलेको यसको प्रतिवादस्वरूप कडा जवाफ दिने तयारी गरेको पनि बताए ।
उनले तथाकथित लोकतन्त्रको नाममा अमेरिकाले चीनको सार्वभौमसत्तालाई चुनौती दिएको उल्लेख गरे ।

अमेरिकाले ताइवानमाथि सैन्य कारवाही गरेको खण्डमा बाध्य भएर जवाफी हमला गनृ प्रतिबद्ध भएको यसअघि नै बताइसकेको छ । अमेरिकाले ताइवान लोकतान्त्रिक मित्र भएको र मित्रको रक्षा गर्नु उसको कर्तव्य भएको उल्लेख गर्दै आएको छ । अमेरिका दक्षिण चीन सागरलाई अन्तर्राष्ट्रिय साझा सम्पत्ति मान्दछ र उक्त सागरीय क्षेत्र चीन एक्लैको बपौती हुन नसक्ने अडानमा रहेको छ ।

चीनको नेबीले ताइवानको समुद्री सीमाको सात ठाँउबाट घेराव गरेर नाकाबन्दी गरेको छ । ताइवानी रक्षा मन्त्रालयले पेलोसीको यात्रापछि चीनको २१ वटा लडाकु विमानले ताइवानको हवाई सीमामा घुसपैठ गरेको जनाएको छ ।

ताइवानले लाइभ वार ड्रिलको नाममा चीनले अन्तर्राष्ट्रिय सामुद्रिक सीमारेखाको उल्लंघन गरेको आरोप लगाएको छ । चीन ताइवानलाई आफ्नो भू–भाग मान्दछ र पेलोसीको एकपक्षीय यात्राले अमेरिकाले चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको प्रतिक्रिया दिएको छ ।

अमेरिका–ताइवान–चीनबीचको तनावका कारण विश्व दुयृ ध्रुवमा विभाजित भएको छ । पलोसीको ताइवान यात्रालाई निन्दा गर्दै चीनको स्पष्ट समर्थन गर्ने मुलुकहरूमा रुस, भेनेजुएला, बेलारुस, उत्तरकोरिया, इरान र पाकिस्तान रहेको छ ।

उता, चीनको युद्धाभ्यासबीच ताइवानले पनि आफ्नो रक्षात्मक स्थितिलाई सुदृढ गरेका छन् । ताइवानले आफ्ना लडाकु विमानहरू आकाशमा उडाएर जस्तोसुकै परिस्थिति उत्पन्न भए सामना गर्न तयार रहेको सन्देश दिएको छ ।

ताइवान तनावका कारण हङकङ र जापानको सेयर बजारमा गिरावट आएको छ । ताइवान, चीन र अमेरिकाबीच जुनसुकै बेला जे पनि हुन सक्ने स्थिति देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?