काँग्रेसका मूर्धन्य नेता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण, आजै अन्त्येष्टी गरिने


 काठमाडौं,  ५  भदौ  (असनबजार पत्रिका)  :  नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीरमाथि श्रद्धाञ्जली दिन नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुकाे भीड लागेको छ । ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा हिजो शनिबार राति ९ः३० बजे निधन हुनुभएका गिरीको पार्थिव शरीरिमा श्रद्धाञ्जली अर्पण गर्न अस्पताल प्राङ्गणमा राखिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा त्यसपछि बिहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा राखिनेछ । नेता गिरीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  गिरीको निधनमा दु:ख  व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै राष्ट्रपति भण्डारीले गिरीको निधनले हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको  बताउनुभयो ।

ट्विटमा  भनिएको छ, “समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ। म दिवङ्गत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”

यसैगरी, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गर्नुभएको हो । यसैगरी, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?