प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, उपलब्धि र निष्कर्ष बाँकी


काठमाडौं,  ८  भदौ  (असनबजार पत्रिका)  :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । उनले भने, “प्रधानमन्त्रीज्यूले पटक–पटक आग्रह गर्नु भएपछि, अध्यक्ष ओली भेटवार्तामा हुनुहुन्छ, छलफल अहिले पनि जारी छ ।” सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत दीर्घकालीन महत्त्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

 

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओलीको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । भेटमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भइरहेको बताइएको छ । छलफलबाट के उपलब्धि र निष्कर्ष निस्कने हो प्रतीक्षाको विषय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?