मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग


काठमाडौं,  १२  भदौ  (अबप)  :  निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया शुरू गर्ने भएको छ ।

 

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया शुरू गरिने आयोगले जनाएको छ ।

 

दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ । नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?