महामन्त्री गगन थापा कास्की–१ बाट चुनाव लड्ने तयारी ?


काठमाडौं,  १५  भदौ  (असनबजार पत्रिका)  :  नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन कास्की कांग्रेस क्षेत्र नम्बर १ ले सिफारिस गरेको छ ।

२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउने सिफारिस थापाकै इच्छाअनुसार भएको हो भन्ने कांग्रेस वृत्तमा बाक्लै चर्चा छ । काठमाडौं कांग्रेसमा व्यापक मतभेद र बेमेलपूर्ण स्थिति विद्यमान रहँदा थापाले लफदामा परेर अस्वाभाविक परिणाम भोग्नुभन्दा बेग्लै जोखिम उठाउनु सहज हुने आँकलनका बीच उनको नाम सिफारिस भएको थापा नजिकका समर्थकहरूको ठोकुवा रहेको छ ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा महामन्त्री थापा र कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पार्टीको केन्द्रीय समितिमा काठमाडौं महानगरपालिकाको चुनावको नतिजालाई लिएर पक्ष–विपक्षका सम्बन्धमा उल्लेख बहस भएको कांग्रेसीजनले बिर्सेका छैनन् । यसैबीच, थापाले यता काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुन आवेदन दिएका छन् । थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन क्षेत्रीय समितिमा निवेदन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?