भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान


काठमाडौं: भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिति २०७९ भाद्र २० गतेका दिन नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच वहाँलाई सो सम्मान प्रदान गरिएको हो । सो समारोहमा वहाँलाई खड्ग र स्क्रोल प्रदान गरियो ।

भारत र नेपालबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन विगत सात दशकदेखि रहिआएको छ । सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको सो मानार्थ दर्जा प्रदान गरिएको थियो । गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई पनि राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

सो समारोहपछि जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा पाण्डेले सो सम्मानका लागि राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गर्नुभयो ।

बिहान आयोजित एक औपचारिक कार्यक्रममा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपश्चात नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा भारतीय सेनाका प्रमुख जनरल पाण्डेलाई सम्मान गारत अपर्ण गरियो । त्यसपछि वहाँले नेपाली समकक्षी जनरल प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभयो । भेटवार्ताको क्रममा दुवै पक्षबीच दुई देशका सेनाबीच लामो समयदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुखलाई ब्रिफिङ्ग गरे ।

भारत सरकारको तर्फबाट जनरल मनोज पाण्डेले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न हेतु हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहारस्वरुप प्रदान गर्नुभयो ।

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपालको पाँचदिने भ्रमणका लागि मिति २०७९ भाद्र १९ गते काठमाडौं आउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?